
कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएका ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका हुन्।

यसअघि डेढ महिनाअघि मात्रै प्रधानमन्त्रीको रेसमा लिज ट्रससँग पराजित भएका सुनक अन्ततः पार्टीको सर्वसम्मत नेता बन्दै प्रधानमन्त्री बन्ने भएका छन्।
अन्तिम राउन्डमा सुनकलाई पछि पार्दै गत सेप्टेम्बर ५ मा प्रधानमन्त्री नियुक्त लिज ट्रसको सरकारले घोषणा गरेको आर्थिक नीतिले यहाँको अर्थतन्त्रमा चरम अस्थिरता सिर्जना गराएपछि चर्को आलोचना र दबाब खेपेकी उनले प्रधानमन्त्री बनेको ४५ दिनमै राजीनामा गरेकी थिइन्।
सन् २०२० को फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिमा सुनकको करियर चम्किएको थियो। कोभिड महामारीका बेला सरकारले ल्याएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा लोकप्रियता दिलाएको थियो।
हिन्दू पारिवारिक पृष्ठभूमिका सुनाकले आफूलाई हिन्दू धर्ममा आस्थावानका रुपमा चिनाउँछन्। यसअघि अर्थमन्त्री हुँदा उनले दिवालीका अवसरमा ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी निवासमा दिपावली गरेका थिए।
बेलायती अर्थतन्त्र धरापमा परेको अवस्थामा प्रधानमन्त्री बनेका सुनकलाई सबैभन्दा ठूलो चुनौती नै मुद्रास्फीति सम्बन्धि हुनेछ । हाल बेलायत सात दशकयताकै उच्च मुद्रास्फीतिको सामना गर्दैछ ।
सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका थिए सुनाक। भारतीय मूलका उनका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए। भारतीय धनाड्य उद्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गाँसेका सुनक दुई छोरीका पिता हुन् । सन् २०१५ देखि सुनक बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहँदै आएका छन्।
