
काठमाडौँ, ८ ासोज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि वाचा–पत्र तयार गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, “फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको वाचा–पत्र तयार गर्न डा. स्वर्णिम वाग्लेको नेतृत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ।”
बैठकले आगामी कात्तिक १४ र १५ गते पार्टीको केन्द्रीय विस्तारित बैठक बोलाउने निर्णय पनि गरेको छ। उक्त बैठकमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी र अन्य प्रमुख विषयहरूमा छलफल हुनेछ।
यस्तै, पार्टीले भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट गरिएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
बैठकले २०४६ सालदेखि उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको प्रवक्ता झाले बताए।
रास्वपा पार्टीको आगामी कार्यक्रम र कदमहरू देखिन्छ, जसले आगामी निर्वाचनमा आफ्नो बलियो उपस्थिती सुनिश्चित गर्ने प्रयास गरेको छ।
