मधेसमा पहिलो संसदीय यात्रामै मन्त्री बन्ने नयाँ अनुहार

सत्ता गठबन्धनका तीन दल जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले र जनमत पार्टी सरकारमा जाँदा मुख्यमन्त्रीसहित कुल १० मन्त्री र ३ राज्यमन्त्री छन् । जसमध्ये ६ जना पहिलो संसदीय यात्रामै मन्त्री र २ जना राज्यमन्त्री बन्न सफल भएका छन् । त्यस्तै, जसपाबाट दोस्रो पटक निर्वाचित सांसदहरु पनि पहिलो पटक मन्त्री बनेका छन् ।

प्रदेशसभा प्रवेशको पहिलो पटकमै मन्त्री हुनेमा नेकपा एमालेका सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुधन प्रसाद सिंह र मो. जयद आलम रहेका छन् भने हिजोमात्र एमाले प्रवेश गरेका केशव राय चौधरी राज्यमन्त्री बनेका छन् ।

त्यस्तै, जनमत पार्टीबाट महेश प्रसाद यादव र बसन्त कुशवाहा मन्त्री बन्दा संजयकुमार यादव पनि पहिलो पटक सांसद बनेर राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

जनमत पार्टीबाट संसदीय दलका नेतासमेत रहेका सप्तरी २ (ख) बाट निर्वाचित महेश प्रसाद यादव संसदीय यात्राको पहिलो पटकमै शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री र समानुपातिक सांसद बसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने सिरहा २ (क) बाट निर्वाचित संजयकुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

उता, जसपा नेपालबाट निर्वाचित भई प्रदेशसभामा दोस्रो पटक प्रवेश पाएका बारा १ (ख) बाट निर्वाचित सांसद सरोजकुमार यादव मुख्यमन्त्री बन्दा सर्लाही ३ (ख) बाट निर्वाचित संजयकुमार यादवले यसपटक भने अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । संजय पनि दोस्रो पटक निर्वाचित सांसद हुन् ।

त्यस्तै, महोत्तरी २ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद सुरिता कुमारी साहलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी माघ ८ गते जसपा प्रवेश गरेर मन्त्री पद हत्याउन सफल भएकी हुन् ।

दोस्रो पटक पर्सा ४ (ख) बाट निर्वाचित जसपाका सांसद सिंगासन सा कलवारले पनि पहिलोपटक खानेपानी तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउँदा रौतहट ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद शेख अबुकलाम आजाद भने सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

पहिलोपटक प्रदेशसभामा आएका नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका महोत्तरी ४ (क) बाट निर्वाचित सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, सप्तरी १ (क) बाट निर्वाचित राजकुमार लेखी कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री, सिरहा २ (ख) बाट निर्वाचित शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्री, रौतहट २ (क) बाट निर्वाचित मो. जयद आलम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री र रौतहट ३ (क) बाट निर्वाचित केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका हुन् ।

जनमत पार्टीका लागि भने मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन संसदीय यात्राको पहिलो खुड्किलो हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *