प्रदेशसभामा ८३ नयाँ अनुहारको प्रवेश

मधेस प्रदेशसभामा १०७ मध्ये ८३ नयाँ अनुहारले यसपटक प्रवेश पाएका छन् । प्रदेशसभामा प्रत्यक्षतर्फ ४१ र समानुपातिकतर्फ जसपाका मनिषकुमार सुमनबाहेक अन्य ४२ जना नयाँ अनुहार छन् ।

अघिल्लो निर्वाचनमा चुनिएका २३ जना प्रत्यक्ष निर्वाचित र जसपाका मनिषकुमार सुमन समानुपातिक कोटाबाट यसपटक पुनः दोहोरिएका हुन् । मधेस प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ जना गरी जम्मा १०७ सदस्यीय सांसद चुनिने व्यवस्था रहेको छ ।

यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व रहेको छ ।

मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बन्दा नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ ।

मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *