ओरियन्सको नेटवर्किङमा फँसेका युवाको बिचल्ली

झापा, २९ चैत ।जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमा जस्तै कोशी प्रदेशका सयौं युवाले ठगिएको गुनासो गरेका छन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बुलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर विर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् ।

“तपाई असाध्य राम्री हुनुहुँदोरहेछ, कमाई पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरुले फुरुक्क पार्नुभयो,” पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिदै उहाँले भन्नुभयो–“सुरुमा एक लाख ३० हजार बुझाउनु पर्छ भन्नुभयो, मैले खुरुक्कै बुझाएँ ।”

तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफुले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उहाँले बताउनुभयो । अहिले उहाँ आफ्नो पैसा फिर्ताका लागि कानूनी उपचार खोज्ने तयारीमा हुनुहुन्छ ।

विर्तामोड–४ स्थित विद्युत प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ लगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितहरुको भनाई छ ।

नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकहरुले फेसबुक र टिकटकमा विज्ञापन गरी मासिक रु. ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन् ।

दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौं रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरु उनीहरुलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ ।

जबर्जस्ती भिडाइएको सामान विक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकहरुले हत्याउने गरेका कारण ओरियन्समा आवद्ध भएका युवाहरु बिचल्लीमा पर्ने गरेका छन् । ठगिएका धेरैजसो डिप्रेसनमा पर्ने गरेका छन् ।

धनकुटामै कोरियन भाषा पढ्दै गर्नुभएकी तेह्रथुम जिल्ला छथर गाउँपालिका वडा नं. ६ शुक्रवारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धक जस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौं पुग्नु भएको छ ।

धनकुटाको एउटा भाइले विहान र वेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफुलाई ओरियन्सको नेटवर्किङ धन्धामा फँसाएको उहाँले बताउनुभयो । उहाँले विर्तामोडको ओरियन्सको शाखामा सुरुमा रु. ३७ हजार र पटकपटक गरेर रु. दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिनुभयो ।

“तालिम दिने भनेर विर्तामोडको बाहिरी वस्तीमा होस्टेलमा राखेर उनीहरुले बन्धक जस्तै बनाए,” ओरियन्सबाट पीडित फुलमायाले भन्नुभयो–“सुरुमै पैसा लगिहाले । होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्न समेत दिएनन् । तलब दिन्छौं भनेर ठगे ।”

तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उहाँले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकहरुले अरु दुई जना साथीलाई संस्थामा आवद्ध गराएपछि मासिक रु. ४० हजार तलब दिने झुठो आश्वासनमा फँसाएको बताउनुभयो ।

तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुवालाई समेत ओरियन्समा आवद्ध गराउनु भएको थियो । बहिनीले रु. ४० हजार र हजुरबुवाले रु. एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरुलाई बुझाएको उहाँले बताउनु भयो । ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उहाँले सुनाउनुभयो ।

युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दा समेत अलग्गै रकम बुझाउनु भएकी उहाँले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की व्यहोर्नु परेको गुनासो सुनाउनुभयो । पाँच महिनापछि फुत्किएर काठमाडौं पुग्नुभएको उहाँ पनि ओरियन्सविरुद्ध कानूनी उपचार खोज्ने तयारीमा हुनुहुन्छ ।

ओरियन्समा रु. ४० हजार बुझाउनु भएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकहरुसँग तलब माग्नुभयो । अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उहाँले फैसा फिर्ता माग्नुभयो ।

“तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाएँ,” उहाँ भन्नुहुन्छ–“चार महिना बस्दा उनीहरुले हामीलाई बन्धक जत्तिकै बनाएका थिए । होस्टल भन्दै एउटै कोठामा पन्ध्र जनासम्म कोचेर राख्थे । एउटै बिल्डिङको माथ्लो तलमा केटीहरुलाई र तल्लो तलामा केटाहरुलाई राख्थ्यो । घरमा फोन गर्दा पनि मोवाइल खोसिदिन्थे ।”

ओरियन्सको नेटवर्किङ बिजनेस धन्धामा लाखौं रकम बुझाएर ठगीको शिकार भएका युवाहरु पाँच सयभन्दा बढी संख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका वडा नं. ४ की २० वर्षीया पीडित आशा राईले दावी गर्नुभयो ।

अधिकांश पीडितहरु पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थीहरु रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उहाँको भनाई छ । सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवाहरुलाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए तापनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको संख्या झन् बढ्ने गरेको उहाँले बताउनुभयो ।

झापामा ओरियन्सका धन्धा चलाउनेहरुले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाहरुबाट रकम असुली गर्दै आएको पाइएको छ । नेटवर्किङ गरेर सदस्यको संख्या बढाउने र जागिरको लोभ देखाएर रु. ४० हजारदेखि रु. एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्धावालाले राजनीतिक संरक्षण समेत पाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ । प्रहरी उपरीक्षक दुर्गा रेग्मीले विर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीहरुलाई सोधपुछ गरिएको र उनीहरुको क्रियाकलाप निगरानी भइरहेको बताउनुभयो । प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उहाँको भनाई छ ।

हाल झापाको विर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवाहरु बसिरहेका छन् । छिटो उद्धार भएन भने उनीहरु पनि ठगिने निश्चित छ ।

गत माघ १४ गते विर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो । भारत र दुबईमा बसेर नेटवर्किङ धन्धा चलाइरहेका विभिन्न व्यक्तिहरुले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा झापाका सांसद् र मेयर समेत अतिथिको रुपमा उपस्थित रहेका थिए । धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गर्नु भएको श्रमदान अभियानमा समेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवाहरुलाई पठाएको पाइएको छ ।

के हो ओरियन्स ?

भारत लगायत विभिन्न मुलुकमा ग्लोबल ओरियन्सको नेटवर्किङ धन्धा चल्दै आएको छ । ओरियन्सको नामबाट नेपालमा छुट्टै कम्पनी दर्ता छ ।

यसका लागि सञ्चालकहरुले युवाहरुलाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सहरको कोठा भाडामा लिन्छन् । जसलाई उनीहरु होस्टेल भन्छन् । होस्टलको खाने र बस्ने खर्च पनि सदस्य आफैले तिर्नुपर्छ । विभिन्न तीन तहको सदस्य भन्दै उनीहरुसँग रकम लिने गरिन्छ र रकमभन्दा केही कम मूल्यको ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बेच्नका लागि भन्दै थमाइन्छ ।

यी सामान मृगौला, मुटु, क्यान्सर लगायत सबै रोगको औषधि हो भन्दै बेच्न लगाउने गरिएको छ । औषधि भन्दै ‘फुड सप्लिमेन्ट’का भारतीय सामान बेच्ने युवाहरु डाक्टर जस्तै बनेर सामान बेच्ने प्रयासमा लाग्छन् । सामान नबिक्ने र पैसा पनि डुबेको थाहा पाएपछि अधिकांश युवा डिप्रेसनमा पर्ने गरेका छन् । सदस्य विस्तार गर्न सञ्चालकहरुले उनीहरुलाई मानसिक दवाव समेत दिने गरेका छन् ।

भारतमा उत्पादित ‘फुड सप्लिमेन्ट’का विभिन्न सामानहरु विक्रीका लागि युवा परिचालन गर्नु नै ओरियन्सको प्रमुख उद्देश्य हो । मासिक रुपमा अस्वाभाविक तलब दिने भनेर लोभ्याएपछि युवालाई तालिममार्फत धनी बन्ने तरिका सिकाउने भन्दै ओरियन्समा लाग्न ‘ब्रेन वास’ गरिन्छ । यसलाई उनीहरुले उत्प्रेरक र नेतृत्व विकास तालिम बताउने गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *