रौतहट १९ फागुन। रौतहट जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महोत्सव २०७९यस वर्षपनि शुक्रबारबाट शुरु भएको हो ।
ऐतिहासिक फागु वैरिया मेला महोत्सवको शुक्रबार एक समारोहका बिच रौतहट क्षेत्र नम्बर ४ का संघीय सान्सद देव प्रसाद तिमल्सिना र गढीमाई नगरप्रमुख श्याम प्रसाद यादवले संयुक्त रूपमा उदघाटन गरेका हुन् ।
सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौं पसले तथा विभिन्न खेलतमासा मेलामा आउने गर्छन् । होलीका सरसामान किन्नेहरूका लागि मेला पहिलो रोजाईमा पर्ने देखिएको छ । मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेहरूको संख्यामा दिनदिनै बढदै गएको गढिमाई नगरपालिकाका नगर प्रवत्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
व्रिटिस साम्राज्यको इष्ट इण्डिया कम्पनीका सैनिकहरु नेपाल माथि आक्रमण गर्दै समनपुरसम्मको भु भाग कब्जामा लिएपछि ईस्वी सम्बत १८१४ डिसेम्बर ३१ गतेका दिन स्थानीय बासिन्दाहरुको सहयोगमा नेपाली सेनाले रातिको समयमा घरेलु अस्त्रशस्त्र सहित व्रिटिश फौज माथि आक्रमण गरी नेपाली भु—भागबाट लखेटी गुमेको भु—भाग कब्जा गरेका थिए । महोत्सवमा नेपाली सेनाले आफनो कलाकृतिको साथै तत्कालिन समयमा युद्धमा प्रयोग भएको अस्त्र सहित प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।
नगरपालिकाको आयोजनामा शुरु भएको फागु बैरिया महोत्सव फागुन १९ गते शुक्रबारदेखी फागुन २३ अर्थात पाँच दिनसम्म हुने आयोजकले बताएका छन ।गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले अंग्रेज माथि विजय प्राप्त गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप परापुर्व काल देखि चलि आएको वैरिया फागु महोत्सवलाई भव्य एवं सभ्य बनाउन नगरपालिका हर सम्भव प्रयास गर्नुका साथै गढीमाइ नगरपालिकाको सस्कृति झल्किने खालको प्रस्तुतीहरु प्रस्तुत गरिने नगर प्रमुखले बताए ।